बीरगन्ज,१३ असार । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले गहवामाई रथयात्राको अवसर पारेर शनिबार माईस्थान मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित श्रद्धालु तथा सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको समितिले जनाएको छ।
समितिका अध्यक्ष श्याम पोखरेल, उपाध्यक्ष देवानन्द कलवार, सचिव पप्पु गुप्ता र कोषाध्यक्ष रवि अग्रवाल सम्मिलित समितिले गठन गरेको उपसमितिका संयोजक श्याम गुप्ताको नेतृत्वमा सञ्चालन भएको शिविरको उद्घाटन चिकित्सक डा. मनोज गुप्ताले गरेका थिए।
समितिका सचिव पप्पु गुप्ताका अनुसार असार ३२ गते हुने गहवामाई रथयात्रालाई लक्षित गर्दै आयोजना गरिएको शिविरबाट ३५५ जनाले स्वास्थ्य सेवा लिएका छन्।
शिविरमा आँखा, दाँत, हाडजोर्नी, कान, मधुमेह तथा थाइराइडसम्बन्धी परीक्षण र विशेषज्ञ परामर्श सेवा प्रदान गरिएको थियो। साथै, परीक्षणका क्रममा मोतियाबिन्दु देखिएका बिरामीहरूको संस्थाको पहलमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको उपसमितिका संयोजक श्याम गुप्ताले जानकारी दिए।
कार्यक्रममा सहसंयोजक अनुप कुमार अग्रवालसहित समितिका सदस्यहरू ओशन गुप्ता, राजन गुप्ता, ललित अग्रवाल, विवेक कुमार, मुन्ना सर्राफ लगायतको सक्रिय सहभागिता रहेको थियो।




