काठमाडौं,१३ असार । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारका नीति तथा निर्णयहरू जनविरोधी र “उल्टो दिशामा” रहेको आरोप लगाएका छन्।
रामेछापको मन्थलीमा पत्रकार तथा नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले सरकारले पेट्रोल–डिजेलको प्रयोग घटाउने नीति लिनुपर्नेमा विद्युतीय सवारी (ईभी) मा कर लगाएर गलत बाटो समातेको टिप्पणी गरे। उनका अनुसार वैकल्पिक ऊर्जालाई प्रोत्साहन गर्नुपर्ने सरकारी प्राथमिकता उल्टिएको छ।
उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भ्याट लगाउने विषयलाई पनि जनविरोधी कदम भन्दै आलोचना गरे। यो नीति सम्बन्धित राजनीतिक दलको घोषणापत्रसँग पनि मेल नखाने उनको दाबी थियो।
घिसिङले सरकार श्रमिकमैत्री नभएको आरोप लगाउँदै न्यूनतम ज्याला नबढाउनु पनि कमजोरी भएको बताए। उनले पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट हेरफेर विवादका कारण राजीनामा दिनुपरेको प्रसंग स्मरण गर्दै हालका अर्थमन्त्रीको बजेट सम्बन्धी निर्णयबारे पनि प्रश्न उठाए।
सरकारले नागरिकको आत्मविश्वास बढाउन नसकेको निष्कर्ष निकाल्दै घिसिङले विश्वास कायम नभएसम्म देशमै बसेर काम गर्ने वातावरण नबन्ने बताएका छन्।




