काठमाडाै,१३ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नो मन्त्रालयका लागि अनुभवी र कार्यसम्पादनमा सक्षम सचिवको खोजी भइरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले मन्त्रालयका वर्तमान सचिवको कार्यकाल असार १७ गतेदेखि सकिने जानकारी दिँदै नयाँ सचिव नियुक्तिका लागि योग्य व्यक्तिको आवश्यकता रहेको उल्लेख गरेका हुन्।
मन्त्री पुनका अनुसार विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा अनुभव भएको, कर्मठ र परिणाममुखी ढंगले काम गर्न सक्ने व्यक्ति मन्त्रालयका लागि उपयुक्त हुनेछन्।
नवगठित मन्त्रालय भएकाले प्रारम्भिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन र कार्य सञ्चालनमा चुनौती रहेको उल्लेख गर्दै उनले सक्षम नेतृत्व बिना प्रभावकारी काम गर्न कठिन हुने बताएका छन्।
मन्त्री पुनले विभिन्न माध्यमबाट योग्य सचिवको खोजी भइरहेको र यस प्रक्रियामा सहयोगको अपेक्षा गरिएको पनि बताएका छन्।
हाल सरकारले स्थापना गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई संस्थागत रूपमा बलियो र प्रभावकारी बनाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।




