काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उमेर मात्रै नेतृत्वको मापदण्ड नहुने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवामात्रै सबै कुरा नभएको भन्दै अनुभव र सन्तुलन पनि उत्तिकै आवश्यक हुने धारणा राखे।
लिङ्देनले भने, “३५–३६ वर्षको हुने बित्तिकै सबै बालेन शाह हुँदैनन्।” उनले उदाहरणका रूपमा ८० वर्ष उमेरका व्यक्तिहरू पनि महत्वपूर्ण जिम्मेवारीमा रहेको उल्लेख गर्दै उमेरलाई मात्र आधार बनाएर क्षमता नतौलिनुपर्ने बताए।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उदाहरण दिँदै उमेरले मात्र नेतृत्व क्षमता निर्धारण नगर्ने तर्क पनि राखे। उनका अनुसार राप्रपामा २५ देखि ८५ वर्षसम्मका नेताहरू सक्रिय रहेको भन्दै पार्टीले युवा ऊर्जा र अग्रज अनुभवको संयोजनलाई अघि बढाइरहेको छ।
अध्यक्ष लिङ्देनले सबैलाई मिलाएर लैजानु नेतृत्वको दायित्व भएको उल्लेख गर्दै पार्टीभित्र भ्रम फैलाउने र हल्लाका आधारमा धारणा बनाउने प्रवृत्ति बन्द गर्न आग्रह गरे।
उनका अनुसार गलत सूचना र आधारहीन कुराले न पार्टीलाई अघि बढाउँछ, न व्यक्तिलाई नै फाइदा गर्छ।




