बीरगन्ज,१३ असार । बीरगन्ज महानगरपालिकाले कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको निर्देशनपछि बजार क्षेत्रको सरसफाइ तथा नाला सफाइ अभियानलाई तीव्र बनाएको छ। फोहोर व्यवस्थापन र वर्षायाममा हुने जलजमावको समस्या न्यूनीकरण गर्ने उद्देश्यले महानगरले विभिन्न स्थानमा सरसफाइ टोली परिचालन गरेको हो।
केही समययता अलखियामठ, आदर्शनगरलगायत मुख्य व्यापारिक क्षेत्रमा फोहोर थुप्रिने र नाला जाम हुने समस्याले स्थानीय बासिन्दा तथा व्यवसायीहरू प्रभावित हुँदै आएका थिए। बढ्दो जनगुनासोलाई ध्यानमा राख्दै कार्यवाहक नगरप्रमुख आलमले सरसफाइ शाखा तथा प्राविधिक टोलीलाई तत्काल परिचालन गरी समस्या समाधान गर्न निर्देशन दिएका थिए।
निर्देशनपछि महानगरको सरसफाइ टोली आवश्यक उपकरण र सवारीसाधनसहित प्रभावित क्षेत्रमा खटिएको छ। टोलीले सडक, गल्ली तथा सार्वजनिक स्थानमा थुप्रिएको फोहोर संकलन गर्नुका साथै जाम भएका नालाहरू सफा गर्ने, ढलको निकास खुलाउने र वर्षाका बेला पानी जम्न नदिने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको महानगरपालिकाले जनाएको छ।
महानगरका अनुसार सरसफाइ अभियान सञ्चालन गर्दा बजारको दैनिक गतिविधिमा कमभन्दा कम असर पर्ने गरी काम भइरहेको छ। सडकमा आवतजावत गर्ने सवारीसाधन र पैदलयात्रीलाई सहज हुने गरी व्यवस्थापनसमेत गरिएको छ।
सरसफाइ अभियानपछि बजार क्षेत्रको वातावरणमा सुधार देखिन थालेको भन्दै स्थानीय व्यवसायी तथा सर्वसाधारणले महानगरपालिकाको पहलप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। महानगरपालिकाले बजार क्षेत्रलाई स्वच्छ, सफा र दुर्गन्धमुक्त बनाउने अभियानलाई निरन्तरता दिइने जनाएको छ। साथै, नगरवासीलाई जथाभावी फोहोर नफाल्न, नालामा फोहोर वा अन्य सामग्री नहाल्न तथा सरसफाइ अभियानमा सहयोग गर्न आग्रह गरेको छ।




