जनकपुरधाम,१३ असार । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको एक होटलबाट प्रहरीले पेस्तोल र चार राउन्ड गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ निवासी विजय यादवका करिब २० वर्षीय छोरा अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामका रामएकवाल मुखियाका करिब १८ वर्षीय छोरा सुधिर मुखिया रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता मनोज यादवका अनुसार शनिबार दिउँसो करिब १ बजे थापा होटलमा खाना खान आएका दुई युवकसँग अवैध हातहतियार रहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट एउटा पेस्तोल, त्यसको एउटा म्यागजिन, ९ एमएम ‘केएफ’ लेखिएको एक राउन्ड गोली तथा ७.६५ एमएम ‘केएफ’ लेखिएका तीन राउन्ड गोली बरामद गरेको जनाएको छ। बरामद गरिएको हातहतियार तथा गोलीसहित दुवै जनालाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




