spot_img

११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु संक्रमण, पाँच लाखभन्दा बढी पक्षी नष्ट

spot_img
spot_img

ललितपुर,१३ असार ।  नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लाका ८२ स्थानमा फैलिएको पुष्टि भएको छ। पशुसेवा विभागका अनुसार संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउनुका साथै प्राविधिक टोली परिचालन गरिएको छ।

विभागका अनुसार विसं २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म फैलिएको हो।

संक्रमण नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा पक्षी, ९ लाख ८९ हजार ३१३ वटा अण्डा तथा १ हजार ९५४ दशमलव ८५ क्विन्टल दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार बर्डफ्लु नियन्त्रणका लागि विशेष ‘रोग नियन्त्रण कक्ष’ स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा निगरानी र नियन्त्रण अभियान सञ्चालन गरिएको छ।

हाल कोशी प्रदेशका मोरङ, झापा, सुनसरीसहित बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका केही क्षेत्रमा संक्रमण देखिएकाले उच्च सतर्कता अपनाइएको विभागले जनाएको छ।

विभागले भाइरसमा आनुवंशिक परिवर्तन (म्युटेसन) भए–नभएको अध्ययन गर्न जिन अनुक्रमण (जिनोम सिक्वेन्सिङ) प्रक्रिया पनि सुरु गरेको जनाएको छ।

पन्छीपालक किसानलाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, फार्ममा प्रयोग हुने सामग्री निसंक्रमण गर्न, जंगली पन्छीसँग सम्पर्क हुन नदिन तथा अस्वाभाविक रूपमा पन्छी बिरामी वा मरेको अवस्थामा तत्काल नजिकको पशुसेवा कार्यालयमा जानकारी गराउन विभागले आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय