spot_img

सरकारले उठायो ११ खर्ब १२ अर्ब राजस्व

spot_img
spot_img

काठमाडौं,१३ असार । चालु आर्थिक वर्ष सकिन १९ दिन बाँकी रहँदा सरकारले लक्ष्यको ७५.१७ प्रतिशत राजस्व सङ्कलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ राजस्व उठेको छ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। लक्ष्य पूरा गर्न अब बाँकी १९ दिनमा ३ खर्ब ६७ अर्ब ५१ करोड रुपैयाँ अर्थात् दैनिक करिब १९ अर्ब ३४ करोड रुपैयाँ राजस्व उठाउनुपर्ने अवस्था छ।

तथ्याङ्कअनुसार कर राजस्वतर्फ लक्ष्यको ७६.२० प्रतिशत प्रगति भएको छ। करबाट हालसम्म १० खर्ब १० अर्ब १६ करोड रुपैयाँ सङ्कलन भएको छ भने गैरकर राजस्व १ खर्ब २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।

अनुदानतर्फ भने लक्ष्यअनुसार प्रगति हुन सकेको छैन। ५३ अर्ब ४४ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य रहेकामा हालसम्म २४ अर्ब ११ करोड रुपैयाँ मात्रै प्राप्त भएको छ, जुन लक्ष्यको ४५.११ प्रतिशत हो।

यता सरकारी खर्च भने १४ खर्ब ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ, जुन कुल बजेटको ७१.५३ प्रतिशत हो। चालु खर्च लक्ष्यको ८०.४२ प्रतिशत पुगे पनि विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्च भने १ खर्ब ४२ अर्ब २३ करोड रुपैयाँ मात्र भएको छ, जुन लक्ष्यको ३४.८७ प्रतिशत मात्रै हो।

वित्तीय व्यवस्थापनतर्फ भने ३ खर्ब १२ अर्ब ९९ करोड रुपैयाँ खर्च भइसकेको छ, जुन यस शीर्षकको लक्ष्यको ८३.४१ प्रतिशत बराबर रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय