काठमाडौं,१३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन, अनुसन्धान प्रतिवेदन तथा सम्बन्धित निर्णयहरू उपलब्ध गराउन औपचारिक रूपमा माग गरेका छन्।
अध्यक्ष ओलीको तर्फबाट एमाले नेता महेश बर्तौलाले शुक्रबार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गराएका हुन्। निवेदनमार्फत अनुसन्धान प्रतिवेदन, आयोगको निर्णय र त्यससँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन आग्रह गरिएको छ।
निवेदनमा आन्दोलनका क्रममा आगजनी, संवैधानिक निकायहरूविरुद्ध उत्तेजना फैलाउने तथा राज्य संयन्त्रमाथि अनधिकृत कब्जा गर्न खोजेको आरोप लागेका व्यक्तिहरूका विषयमा आयोगको निर्णय स्पष्ट नभएको उल्लेख गरिएको छ।
यसैगरी, सार्वजनिक सञ्चारमाध्यममा आएको राष्ट्रिय मानव अधिकार आयोगको बैठक नम्बर १७७ को निर्णयमा सिफारिस खण्ड र तथ्य खण्डबीच मेल नखाएको दाबी गर्दै त्यसबारे पनि स्पष्टता आवश्यक रहेको एमालेको भनाइ छ।
एमालेले आयोगको अनुसन्धान प्रक्रिया र निर्णयबारे पारदर्शिता कायम गर्दै सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेको छ।




