spot_img

सुरक्षित पुनर्स्थापनाको माग गर्दै माइतीघरमा सुकुमबासीको प्रदर्शन

spot_img
spot_img

काठमाडौं,१३ असार । सुरक्षित पुनर्स्थापना र भू–स्वामित्वसहितको स्थायी आवासको सुनिश्चितता नगरी होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले माइतीघरदेखि बबरमहलसम्म र्‍याली निकाल्दै सरकारले पटक–पटक गरेका प्रतिबद्धता कार्यान्वयन गर्न, संविधान र कानुनअनुसार सम्मानजनक आवास तथा दिगो समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन्। पुनर्स्थापना गर्नुपर्ने अवस्था आए घर भत्काइएको स्थान वा कानुनी रूपमा उपयुक्त ठाउँमा भू–स्वामित्वसहित स्थायी व्यवस्थापन गरिनुपर्ने उनीहरूको भनाइ छ।

प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा बस्दै आएका दलमर्दन कामीले सम्बन्धित निकायबाट पटक–पटक सेन्टर खाली गर्न दबाब दिइएको भन्दै त्यसले त्यहाँ बसोबास गरिरहेका परिवारमा मानसिक तनाव सिर्जना गरेको बताए। उनले केही सरकारी निकाय र प्रहरीबाट २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न दबाब दिइएको आरोप पनि लगाए।

प्रदर्शनकारीहरूले आफूहरूलाई उचित वैकल्पिक व्यवस्था नगरी सडकमा ल्याउने प्रयास भइरहेको भन्दै तत्काल सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले “डोजर होइन, समाधान दे”, “जनता मार्न पाइँदैन”, “गरिबमाथिको ज्यादती बन्द गर” लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि प्रभावित परिवारहरू आन्दोलनमा उत्रिएका हुन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय