बीरगन्ज,१४ असार । बीरगन्ज महानगरपालिकाअन्तर्गत सरसफाइ सेवाको जिम्मा लिएको ठेकेदार कम्पनीमा कार्यरत सरसफाइ कर्मीहरूले तलब वृद्धि लगायतका विभिन्न माग राख्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्।
आन्दोलनका क्रममा कर्मीहरूले घण्टाघर चोक र महानगरपालिकाको मुख्य प्रवेशद्वार अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन गरेका छन्। आन्दोलनका कारण शहरको सरसफाइ व्यवस्थापन प्रभावित हुने संकेत देखिएको छ।
घटनालाई गम्भीर रूपमा लिँदै कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले सरसफाइ सेवाको जिम्मा लिएका ठेकेदार शिव गुप्तासँग तत्काल छलफल गरी कर्मीहरूको जायज माग सम्बोधन गर्न निर्देशन दिएका छन्।
नगर प्रमुख आलमले आन्दोलनका कारण सर्वसाधारणले सास्ती बेहोर्न नपरोस् र नियमित सरसफाइ सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले महानगरपालिकाले आवश्यक समन्वय र पहल गरिरहेको बताएका छन्। साथै, सरसफाइ सेवामा कुनै अवरोध आउन नदिन महानगरपालिका प्रतिबद्ध रहेको र आवश्यक सबै कदम चालिने पनि उनले स्पष्ट पारे।




