रौतहट,१४ असार । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा करिब २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन्।
शनिबार सशस्त्र सीमा बल (एसएसबी) ७१ बटालियनको विशेष सूचनाका आधारमा एसएसबीको कोरैया क्याम्प, ७१ बटालियन मोतिहारी र महुआवा प्रहरीको संयुक्त टोलीले भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लामा सीमा स्तम्भ नम्बर ३८१ नजिक संयुक्त अपरेसन सञ्चालन गरेको थियो। उक्त स्थान नेपाल–भारत सीमाबाट करिब १५० मिटर भारतीय भूभागभित्र पर्दछ।
अपरेसनका क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरिएको २ किलो अफिम (प्याकिङसहित) जस्तो देखिने पदार्थ र एउटा हिरो होन्डा मोटरसाइकलसहित दुई नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्ने नेपालीहरू बारा जिल्लाको लंगडा चोक निवासी ४० वर्षीय दिनेश राम र ४१ वर्षीय सोना लाल पासवान रहेका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त तस्करीमा भारतको बिहार राज्यको पूर्वी चम्पारणस्थित भवानीपुर गाउँका ४० वर्षीय लालबाबु सिंहको समेत संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको एसएसबीले जनाएको छ।
बरामद अफिम, मोटरसाइकल तथा पक्राउ परेका तीनै जनालाई थप कानुनी कारबाहीका लागि महुआवा प्रहरीको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसबीले जनाएको छ।




