spot_img

मनसुन सक्रिय बन्दै, यो साता देशभर वर्षाको सम्भावना

spot_img
spot_img

काठमाडौं,१४ असार । केही दिनयता कमजोर बनेको मनसुन अब क्रमशः सक्रिय हुने संकेत देखिएको छ। मौसमविदका अनुसार यस साताभर देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेकाले अत्यधिक गर्मीबाट राहत मिल्नुका साथै धान रोपाइँका लागि पनि अनुकूल वातावरण बन्ने अपेक्षा गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी मंगलबारदेखि बिहीबारसम्म वर्षाको गतिविधि बढ्नेछ। पूर्वी नेपालमा पश्चिमको तुलनामा बढी वर्षा हुने सम्भावना रहेको छ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। यी प्रदेशका तराईका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्ने विभागले जनाएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिमका तराईका केही स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ, जसले पछिल्ला दिनको तातो हावाको प्रभाव कम गर्ने अपेक्षा गरिएको छ।

मौसमविदहरूले बुधबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा राम्रो वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै किसानलाई धान रोपाइँको तयारी गर्न सुझाव दिएका छन्।

यस वर्ष मनसुन औसत समयभन्दा ६ दिन ढिलो असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो। त्यसपछि विस्तार भए पनि सक्रिय हुन नसक्दा पर्याप्त वर्षा हुन सकेको थिएन। वर्षा अभावका कारण देशका धेरै स्थानमा अत्यधिक गर्मी महसुस भइरहेको थियो।

मौसमविदका अनुसार यस साताको वर्षाले गर्मीबाट केही राहत दिलाउने र कृषि गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यद्यपि, यस वर्षको मनसुन अवधिभर औसतभन्दा कम वर्षा र तुलनात्मक रूपमा बढी गर्मी रहने प्रक्षेपण भने यथावत् रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय