बीरगन्ज,१४ असार । गृहमन्त्री सुधन गुरुङले बारा र पर्साका नेपाल–भारत सीमा नाकाहरूमा आकस्मिक अनुगमन गर्दै तस्करी नियन्त्रणमा प्रभावकारी कदम चाल्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
शुक्रबार साँझ मधेश प्रदेश पुगेका गृहमन्त्रीले औपचारिक जानकारीबिनै सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। उनको भ्रमणबारे स्थानीय प्रशासन र सुरक्षा निकायलाई समेत पूर्वसूचना नभएकाले शनिबार उनी सिमरा विमानस्थल पुग्दा मात्रै प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूले भेट गरेका थिए।
अनुगमनका क्रममा गृहमन्त्रीले पर्साको जगरनाथपुर गाउँपालिकास्थित जानकी टोला, ड्राइपोर्ट क्षेत्र तथा बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा नाकाको निरीक्षण गरेका थिए। उनले सीमा क्षेत्रमा हुने अवैध गतिविधिबारे स्थानीयसँग प्रत्यक्ष छलफलसमेत गरेका थिए।
स्थानीयले रातिको समयमा साइकलमार्फत ठूलो परिमाणमा भन्सार छलेर सामान ओसारपसार हुने गरेको गुनासो गरेपछि गृहमन्त्रीले तस्करी अझै जारी छ कि छैन भन्नेबारे चासो राखेका थिए। स्थानीयले अहिले पनि तस्करी नरोकिएको भन्दै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए।
अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा जडान गरिएका सीसीटीभी प्रणालीको निगरानी कसले गर्छ भन्नेबारे पनि जानकारी लिएका थिए। साथै, सीमा नाकाबाट हुने सबै प्रकारका तस्करी रोक्न गृह प्रशासन, प्रहरी र सशस्त्र प्रहरीलाई थप सक्रिय भएर काम गर्न निर्देशन दिएका छन्।
अनुगमन सम्पन्न गरेपछि गृहमन्त्री शनिबार साँझ सिमरा विमानस्थलबाट काठमाडौं फर्किएका छन्।




