बीरगन्ज,१४ असार । बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा अभद्र व्यवहार सम्बन्धी मुद्दामा पक्राउ परेका छन्। ३७ वर्षीय कुशवाहालाई जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले उनलाई कलैया उपमहानगरपालिका–२३ बरैटपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि कुशवाहालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार हाल उनलाई जिल्ला प्रहरी कार्यालय बारामा राखी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।




