काठमाडौं,१४ असार । नेकपा (नेपाली कम्युनिस्ट पार्टी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न महाधिवेशनबाट पारित दस्ताबेजहरूले मुलुकको लोकतन्त्र र गणतन्त्रको आधारभूत संरचनामाथि चुनौती सिर्जना गरेको आरोप लगाएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले लोकप्रियताको आवरणमा आएका केही राजनीतिक विचारहरूले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम रहेको भन्दै सचेत रहनुपर्ने बताए।
चितवनको सौराहामा सम्पन्न रास्वपाको पहिलो महाधिवेशन सफल भएकोमा शुभकामना दिँदै उनले पार्टीका नीति तथा अभिव्यक्तिमाथि भने प्रश्न उठाए। उनका अनुसार, लोकतान्त्रिक संरचनालाई कमजोर बनाउने खालका विचारहरू सार्वजनिक हुनु गम्भीर विषय हो।
दुलालले चुनावका क्रममा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने प्रतिबद्धता जनाएर पछि ती संरचनामै प्रश्न उठाउनु जनताप्रति बेइमानी हुने टिप्पणी गरे। उनले प्रदेश संरचना बिना संघीयता सम्भव नहुने भन्दै त्यसविरुद्धका धारणा अस्वीकार्य हुने बताए।
त्यस्तै, सरकारले प्रशासनिक खर्च घटाउने कुरा गरे पनि व्यवहारमा भने सल्लाहकार नियुक्ति बढाएर राज्यको खर्च झनै बढाइरहेको आरोप उनले लगाए।
उनका अनुसार, एकातर्फ मितव्ययिताको भाषण गर्ने र अर्कोतर्फ अनावश्यक नियुक्तिहरू बढाउने प्रवृत्तिले राज्यकोषमाथि भार थपिरहेको छ।




