काठमाडौं,१४ असार । वैदेशिक रोजगारीसँग सम्बन्धित ठगी तथा अनुसन्धानका करिब २५ वर्षदेखि थन्किएका हजारौं फाइललाई व्यवस्थित गर्दै डिजिटल अभिलेखीकरण गर्ने काम वैदेशिक रोजगार विभागले तीव्र पारेको छ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको निर्देशन र विभागकी महानिर्देशक मिरा आचार्यको नेतृत्वमा लामो समयदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धान फाइलहरू खोज्ने, वर्गीकरण गर्ने र व्यवस्थित अभिलेख तयार गर्ने अभियान अघि बढाइएको हो।
वि.सं. २०४२ मा वैदेशिक रोजगार ऐन लागू भएपछि सुरु भएको यो प्रणालीमा सुरुमा श्रम विभागमार्फत काम हुँदै आएको थियो। पछि २०५६ मा श्रम तथा रोजगार प्रवर्द्धन विभाग स्थापना भएपछि उजुरी तथा गुनासा त्यहीँ दर्ता हुन थालेका थिए भने २०६४ पछि वैदेशिक रोजगार विभाग गठन भएसँगै ती फाइलहरूको जिम्मेवारी सोही निकायमा आएको थियो।
विभागका अनुसार हाल २०५७ सालदेखिका कागजातसहित धेरै पुराना मुद्दा तथा अनुसन्धान फाइलहरू फेला परेका छन्। ती फाइलहरूलाई वर्षअनुसार वर्गीकरण गरी भौतिक अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ।
अब ती कागजातलाई स्क्यान गरेर डिजिटल प्रतिलिपि तयार गर्ने प्रक्रिया अघि बढाइएको छ। साथै, भविष्यमा मुद्दा तथा अनुसन्धान प्रक्रियालाई अझ प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली विकास गर्ने तयारी पनि भइरहेको विभागले जनाएको छ।
यस प्रणालीमार्फत २०५७ सालयता सम्बन्धित सबै फाइलहरू डिजिटल प्रणालीमा अद्यावधिक गरिनेछ। विभागका अनुसार यसले वैदेशिक रोजगारी ठगीका पीडितलाई छिटो, पारदर्शी र प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ।




