रौतहट,१४ असार । नगरप्रमुख (मेयर) र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद चर्किँदा रौतहटका तीन स्थानीय तहमा नगरसभा अनिश्चित बनेको छ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट नगर वा गाउँसभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था भए पनि फतुवा विजयपुर, कटहरिया र गरुडा नगरपालिकाले समयमै नगरसभा गर्न सकेका छैनन्।
कटहरिया नगरपालिकामा नगरप्रमुख अजयप्रकाश र प्रमुख प्रशासकीय अधिकृत हरि पन्तबीचको असमझदारीका कारण कार्यालयको कामकाज प्रभावित भएको छ। नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृत कार्यालयमै नियमित नआएको आरोप लगाएका छन् भने उनले नगरसभा कहिले हुने भन्नेबारे अन्योल रहेको बताएका छन्।
त्यस्तै गरुडा नगरपालिकामा नगरप्रमुख कन्थमणि जैसवाल र प्रमुख प्रशासकीय अधिकृत नीलम न्यौपानेबीचको विवादले पनि नगरसभा रोकिएको छ। नगरप्रमुखले कर्मचारीबीच गुट–उपगुट सिर्जना भएको र कामकाज प्रभावित भएको आरोप लगाएका छन् भने प्रमुख प्रशासकीय अधिकृतले भने सबै आरोप अस्वीकार गर्दै आफूलाई सरुवा भए पनि पछि मन्त्रालयले थमौती गरेको स्पष्ट पारेकी छन्।
फतुवा विजयपुर नगरपालिकामा कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद दाहालबीचको विवादले पनि बजेट प्रक्रिया अघि बढ्न सकेको छैन। खातुनले योजनाको भुक्तानी रोकिएको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृतको सरुवाको मागसमेत गरेकी छन्।
जिल्लाका बाँकी १५ स्थानीय तहले भने समयमै नगरसभा सम्पन्न गरी बजेट सार्वजनिक गरिसकेका छन्। तर यी तीन पालिकामा नेतृत्व र प्रशासनबीचको टकरावका कारण विकास योजना, भुक्तानी प्रक्रिया र सेवा प्रवाह प्रभावित हुने अवस्था देखिएको छ।




