काठमाडौं,१४ असार । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणाली लागू गर्ने विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने भएको छ।
आइतबार संसदमा आर्थिक विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहुदर प्रणालीको सम्भाव्यता, प्रभाव र चुनौतीबारे अध्ययन गर्न समिति बनाइने जानकारी दिए।
उनका अनुसार समितिले पेश गर्ने सुझावका आधारमा मुलुकको हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिइनेछ।
अर्थमन्त्री वाग्लेले भ्याटमा बहुदर प्रणाली लागू गर्दा केही व्यावहारिक चुनौती देखिएको बताए। राज्य संयन्त्र पारदर्शी र प्रभावकारी नभएको अवस्थामा उच्च करदरबाट न्यून करदरमा वर्गीकरण गराउन विभिन्न प्रकारका दबाब र ‘लबिइङ’ हुन सक्ने तर्क आएको उनले उल्लेख गरे। यस्तो अवस्था रहेमा सुशासन कमजोर हुँदा प्रणाली कार्यान्वयनमा समस्या आउन सक्ने उनको भनाइ थियो।
यद्यपि, निजी क्षेत्रका व्यवसायीहरूले भने लामो समयदेखि भ्याटमा बहुदर प्रणाली लागू गर्न सरकारसँग माग गर्दै आएका छन्। सोही मागलाई ध्यानमा राख्दै सरकारले चालु आर्थिक वर्षभित्र यस विषयमा व्यापक बहस र अध्ययन अघि बढाउने तयारी गरेको अर्थमन्त्री वाग्लेले जानकारी दिए।




