काठमाडौं,१४ असार । नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन नकाटीकनै मर्मत सम्भार गर्ने नयाँ अभ्यासको सुरुवात गरेको छ।
प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयमार्फत यो कार्यको थालनी गरेको हो। कायम मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा बुटवल उपमहानगरपालिका–११, कालिकानगरस्थित ११ केभी लाइनमा मर्मत गरी यो नमुना कार्य प्रारम्भ गरिएको प्राधिकरणले जनाएको छ।
विद्युत् आपूर्ति अवरुद्ध नगरी मर्मत सम्भार गर्ने यस प्रणालीलाई आगामी दिनमा निरन्तरता दिइने र यसलाई आधुनिक प्रविधि प्रयोग गरी विस्तार गरिने प्राधिकरणले जनाएको छ।
वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक नवराज ओझाका अनुसार यो अभ्यास सफल भएमा लाइन काटेर मर्मत गर्नुपर्ने बाध्यता कम हुनेछ र उपभोक्ताले निरन्तर तथा भरपर्दो विद्युत् सेवा पाउनेछन्।
प्राधिकरणले भविष्यमा अत्याधुनिक उपकरणको प्रयोगमार्फत “लाइन चलिरहेकै अवस्थामा मर्मत” गर्ने प्रणालीलाई विस्तार गर्ने लक्ष्य लिएको छ, जसले विद्युत् सेवा अझ प्रभावकारी र व्यवधानरहित बनाउने अपेक्षा गरिएको छ।




