काठमाडाै,१४ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको हालको मूल्यवृद्धि तत्कालै घट्ने अवस्था नभए पनि निकट भविष्यमा क्रमशः कम हुँदै जाने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्य अब सहज बन्दै गएको बताए।
उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्य घटिसकेको भए पनि नेपालमा भारतीय आयल निगममार्फत आयात हुने भएकाले त्यसको प्रभाव उपभोक्तासम्म पुग्न केही समय लाग्नेछ।
अर्थमन्त्री वाग्लेले सरकारले इन्धनको मूल्यवृद्धिको भार कम गर्न भन्सार महसुल र पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिइएको पनि जानकारी दिए।
उनले आफू अर्थमन्त्री बनेपछि तत्कालै मूल्यवृद्धिको असर कम गर्ने प्रयास गरिएको उल्लेख गर्दै अबको केही समयपछि मूल्य घट्ने संकेत स्पष्ट भएको दाबी गरे।
उनका अनुसार आपूर्ति प्रणाली र आयात प्रक्रियामा हुने ढिलाइका कारण तत्काल असर नदेखिए पनि बजारमा मूल्य समायोजन क्रमशः हुने अपेक्षा गरिएको छ।




