काठमाडौं,१४ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो मन्त्रालयका लागि विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रको ज्ञान तथा अनुभव भएको योग्य सचिवको खोजी सुरु भएको बताएका छन्।
हाल कार्यरत सचिव प्रमिलादेवी शाक्य बज्राचार्यको कार्यकाल समाप्त भई बुधबारदेखि अवकाश हुन लागेकाले नयाँ सचिव नियुक्तिको प्रक्रिया अघि बढाइएको मन्त्री पुनले जानकारी दिएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले मन्त्रालयलाई विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा अनुभवसहित परिणाममुखी ढंगले काम गर्न सक्ने सचिव आवश्यक रहेको उल्लेख गरेका छन्। उनले योग्य उम्मेदवारको खोजी विभिन्न माध्यमबाट भइरहेको जनाउँदै यस कार्यमा सम्बन्धित सबैको सहयोगको अपेक्षा पनि गरेका छन्।
उनले लेखेका छन्, “यस मन्त्रालयलाई विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा काम गरेको अत्यन्त अनुभवी, कर्मठ र कार्यसम्पादन गर्न सक्ने सचिव चाहिएको छ। त्यसका लागि विभिन्न माध्यमबाट योग्य सचिवको खोजी भइरहेको छ। यस कार्यमा सबैको सहयोगको अपेक्षा गर्दछु।”
मन्त्री पुनका अनुसार नयाँ सचिव बाहिरबाट नियुक्त गरिने छैन। विद्यमान कानुनी व्यवस्थाअनुसार नेपाल सरकारकै बहालवाला कर्मचारीमध्येबाट योग्य व्यक्ति छनोट गरिनेछ।
नयाँ सचिव छनोटबारे सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले सरकारी सेवाभित्र रहेका सक्षम र अनुभवी अधिकारीको खोजी भइरहेको बताए। यसका लागि विभिन्न जानकार व्यक्ति तथा सरोकारवालासँग परामर्श र समन्वय भइरहेको उनको भनाइ छ।




