काठमाडौं,१४ असार । काठमाडौं प्रवेश गर्ने क्रममा नागढुंगाबाट यात्रुवाहक बसमा सवार दुई भारतीय नागरिकलाई ७५ ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार शनिबार काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा भारतको पश्चिम बंगालस्थित सिलिगुडीका ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोस रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ७५ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार बरामद लागुऔषधसहित दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको छ।




