जनकपुर,१४ असार । जनकपुरधाम उपमहानगरपालिकाले नगरलाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यसहित वृक्षारोपण अभियान सुरु गरेको छ। अभियानअन्तर्गत पहिलो चरणमा नगर क्षेत्रमा दुई हजार बिरुवा रोपिएको छ।
आइतबार नगर प्रमुख मनोजकुमार साह र पर्यावरण अभियन्ता सुरेश शर्माले संयुक्त रूपमा बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन्।
नगर प्रमुख साहका अनुसार थापा चोकदेखि मुजेलियासम्मको सडक खण्डमा विभिन्न प्रजातिका दुई हजार बिरुवा रोपिएको छ। बिरुवाको दीर्घकालीन संरक्षणका लागि प्रत्येक बिरुवामा फलामे घेरा पनि जडान गरिएको उनले बताए।
उनले तीव्र सहरीकरणका कारण हरियाली क्षेत्र घट्दै गएकाले वातावरण संरक्षण र नगरको सौन्दर्य अभिवृद्धिलाई ध्यानमा राखेर वृक्षारोपण अभियान सञ्चालन गरिएको स्पष्ट पारे। उनका अनुसार यो अभियान एकदिने कार्यक्रममा सीमित नरही चरणबद्ध रूपमा नगरका विभिन्न क्षेत्रमा विस्तार गरिनेछ।
अर्को चरणमा जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला अदालत हुँदै भैरव चोकसम्मको सडक क्षेत्रमा वृक्षारोपण गरिने योजना रहेको नगर प्रमुख साहले जानकारी दिए। साथै सार्वजनिक स्थल, सडक किनार र सरकारी खाली जग्गामा पनि हरियाली विस्तार गरिने उनले बताए।
पर्यावरण अभियन्ता सुरेश शर्माले वृक्षारोपण गर्नु मात्र पर्याप्त नभई बिरुवाको नियमित स्याहार, संरक्षण र व्यवस्थापन पनि उत्तिकै आवश्यक रहेको बताए। उनका अनुसार वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्न, बढ्दो गर्मीको प्रभाव कम गर्न तथा नगरको सौन्दर्य बढाउन महत्त्वपूर्ण योगदान पुर्याउँछ।
उनले जनकपुरधामलाई स्वच्छ, हराभरा र वातावरणमैत्री सहर बनाउन स्थानीय नागरिकको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको पनि उल्लेख गरे।




