काठमाडौं,१४ असार । नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालका सबै कम्युनिस्ट शक्तिलाई आफ्ना कमजोरी र विगतका गल्तीप्रति गम्भीर आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।
‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलन कमजोर बन्दै जानुको वास्तविक कारण खोजेर त्यसबाट पाठ सिक्नुपर्ने आवश्यकता औँल्याए।
जननेता मदन भण्डारीको भनाइ उद्धृत गर्दै उनले केवल भाषण र नाराले परिवर्तन सम्भव नहुने उल्लेख गरे। “कुरा गरेर मात्रै चिउरा भिज्दैन, काम गरेर देखाउनुपर्छ,” भन्ने सन्देशलाई आत्मसात् गर्नुपर्ने उनले बताए।
माधव नेपालले कम्युनिस्ट दलहरू किन जनताबाट टाढिँदै गए भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए। बदलिँदो जनमनोविज्ञान बुझ्न नसक्नु, वैचारिक विचलन, व्यक्तिवाद, अहंकार र भ्रष्टाचारजस्ता प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाएको हो कि भन्ने विषयमा सबैले खुलेर आत्ममन्थन गर्नुपर्ने उनको भनाइ थियो।
उनले आत्मकेन्द्रित सोच र ‘मै हुँ’ भन्ने प्रवृत्तिलाई त्याग्न नसके कम्युनिस्ट आन्दोलन पुनः सशक्त बन्न नसक्ने चेतावनी दिए। समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्न सबै कम्युनिस्ट शक्तिहरू साझा उद्देश्यका साथ एकजुट हुनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा नेता नेपालले जननेता मदन भण्डारीको नेतृत्व क्षमता, दूरदर्शी सोच, यथार्थवादी कार्यशैली र पार्टी अनुशासनको प्रशंसा गर्दै जनताको बहुदलीय जनवाद (जबज) का धेरै सिद्धान्त आज पनि सान्दर्भिक रहेको बताए।
उनले कम्युनिस्ट आन्दोलनको भविष्य सुनिश्चित गर्न विचार मिल्ने सबै शक्तिबीच सहकार्य, संवाद र एकता आजको आवश्यकता भएको उल्लेख गरे।




