काठमाडौं,१४ असार । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय र परिस्थितिअनुसार विचार तथा कार्यशैलीमा परिवर्तन गर्न सक्ने क्षमता कम्युनिस्ट नेतृत्वमा हुनुपर्ने बताएका छन्।
‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले आफूले उठाउँदै आएको ‘क्रमभंग’को अवधारणालाई गलत रूपमा व्याख्या गर्ने गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले ‘क्रमभंग’ भनेको अराजकता वा उथलपुथल नभई प्रकृति, समाज र मानव विकासको स्वाभाविक प्रक्रिया भएको उल्लेख गरे। निरन्तरतासँगै आवश्यक परिवर्तनलाई आत्मसात् गर्न नसके कुनै पनि आन्दोलन वा नेतृत्व अगाडि बढ्न नसक्ने उनको भनाइ थियो।
प्रचण्डले आफू कम्युनिस्ट एकताका लागि हतारिएको नभएको स्पष्ट पार्दै परिस्थितिअनुसार सही निर्णय लिने पक्षमा रहेको बताए।
उनले केही नेताहरू पुरानै सोच र कार्यशैलीमा अडिग रहँदा परिवर्तनको गतिसँग पछि परेको टिप्पणी पनि गरे। एउटै विचार र शैलीमा अडिएर बस्दा लक्ष्य हासिल गर्न नसकिने भन्दै उनले परिस्थितिअनुसार विचार र रणनीति परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।
“समय बदलिएको छ, त्यसअनुसार हामी पनि बदलिनुपर्छ,” उनले भने, “परिवर्तनलाई बुझ्नेले त्यसलाई गतिशीलता भन्छन्, जसले नबुझ्ने हो उसले फरक अर्थ लगाउँछ, त्यसमा मेरो कुनै गुनासो छैन।”
प्रचण्डले वर्तमान राजनीतिक र सामाजिक यथार्थलाई आत्मसात् गर्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउन विचारमा लचकता र व्यवहारमा परिवर्तन अपरिहार्य रहेको धारणा व्यक्त गरे।




