काठमाडौँ,१४ असार । पाकिस्तानको कराँचीस्थित पाकिस्तान रेन्जर्स सिन्धको सैन्य क्याम्पमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ।
पाकिस्तानी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार शनिबार राति भएको आक्रमणमा तीन सुरक्षाकर्मी मारिएका हुन्। घटनापछि सुरक्षाकर्मीले गरेको जवाफी कारबाहीमा तीन जना आक्रमणकारी पनि मारिएका छन्।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार सुरक्षा अपरेशनका क्रममा एक आक्रमणकारीलाई घाइते अवस्थामा पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्ति अफगान नागरिक रहेको प्रारम्भिक जानकारी सेनाले दिएको छ।
आक्रमण शनिबार राति कराँचीको गुलिस्तान–ए–जौहर क्षेत्रमा रहेको पाकिस्तान रेन्जर्सको कार्यालय नजिक भएको थियो। प्रत्यक्षदर्शीका अनुसार सुरुमा ठूलो विस्फोटको आवाज सुनिएको थियो भने त्यसलगत्तै केही समयसम्म तीव्र गोलीबारी भएको थियो।
घटनापछि सुरक्षा निकायले क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ। आक्रमणको जिम्मेवारी भने हालसम्म कुनै समूहले सार्वजनिक रूपमा लिएको छैन।




