काठमाडौं,१४ असार । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आइतबार थाइल्याण्डको बैंककतर्फ प्रस्थान गरेकी छन्।
कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार पाँचदिने भ्रमणका क्रममा मन्त्री चौधरीले ‘पेरिस सम्झौता र दिगो विकासका लागि २०३० कार्यसूचीबीचको समन्वय सुदृढीकरण’ विषयक सातौँ विश्व सम्मेलनको उच्चस्तरीय सत्रमा सहभागिता जनाउनेछिन्। साथै, उनी वातावरण तथा विकास समितिको नवौँ मन्त्रीस्तरीय अधिवेशनमा पनि सहभागी हुने कार्यक्रम छ।
सम्मेलनमा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयन तथा दिगो विकास लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्ने विषयमा छलफल हुनेछ।
भ्रमणका क्रममा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौती, विशेषगरी हिमाली क्षेत्रका समस्या, वातावरण संरक्षणका लागि गरिएका पहल तथा दिगो विकास लक्ष्यतर्फ नेपालको प्रगतिबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष धारणा राख्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।




