spot_img

देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

spot_img
spot_img

वीरगंज,१५ असार – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशका अधिकांश क्षेत्रमा मनसुनी प्रणाली सक्रिय रहेको जनाएको छ। कोशी, मधेस र बागमती प्रदेशमा मनसुनको पूर्ण प्रभाव देखिएको छ भने गण्डकीका केही तथा लुम्बिनीको पूर्वी क्षेत्रमा पनि मनसुनी वायु सक्रिय छ। बाँकी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी २–३ दिनभित्र मनसुन फैलिने अनुमान गरिएको छ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र लुम्बिनीका केही स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा पनि केही स्थानमा वर्षा हुन सक्नेछ। कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, कोशी र मधेसका केही तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा जारी रहने अनुमान गरिएको छ। कोशीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपास र पहिरो जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय