वीरगञ्ज । गुणस्तरीय तथा व्यवहारमुखी शिक्षालाई प्राथमिकतामा राख्दै एपेक्स म्यानेजमेन्ट कलेजले ब्याचलर्स अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) कार्यक्रमअन्तर्गत विद्यार्थीलाई वास्तविक कार्यक्षेत्रसँग जोड्ने उद्देश्यले अतिरिक्त क्रियाकलाप (ECA) सिरिजलाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ।
कलेजले विद्यार्थीलाई सैद्धान्तिक अध्ययनमा मात्र सीमित नराखी उद्योग, बैंकिङ, प्रशासन तथा कर्पोरेट क्षेत्रमा आवश्यक पर्ने व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने लक्ष्यसहित प्रत्येक सेमेस्टरमा तीनवटा व्यवहारिक कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरेको जनाएको छ।
नियमित प्राज्ञिक कक्षा, प्रस्तुतीकरण, बैंक तथा औद्योगिक भ्रमण, शैक्षिक अवलोकन लगायतका गतिविधिसँगै सञ्चालन हुँदै आएको ECA सिरिजले विद्यार्थीको नेतृत्व क्षमता, सञ्चार सीप, प्राविधिक दक्षता, विश्लेषणात्मक सोच तथा व्यावसायिक आत्मविश्वास अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको कलेजका सञ्चालक समिति अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले बताए।
उनका अनुसार शैक्षिक सत्र २०८३ अन्तर्गत बीबीए दोस्रो सेमेस्टरका ‘वर्कसप अन इफेक्टिभ पब्लिक स्पिकिङ’ र ‘वर्कसप अन इआरपी एकाउन्टिङ सफ्टवेयर’ सफलतापूर्वक सम्पन्न भइसकेका छन्। त्यसैगरी चौथो सेमेस्टरका विद्यार्थीका लागि ‘वर्कसप अन लिगल एन्ड एडमिनिस्ट्रेटिभ प्रोसिड्युर’ समेत सम्पन्न गरिएको छ।
कलेजले आगामी कार्यक्रमहरूको तालिकासमेत सार्वजनिक गर्दै बीबीए चौथो सेमेस्टरका लागि असार २७ गते ‘वर्कसप अन प्रपोजल एन्ड रिपोर्ट राइटिङ’ तथा साउन २३ गते ‘वर्कसप अन एडभान्स्ड एमएस एक्सेल एन्ड एसपीएसएस’ सञ्चालन गर्ने जनाएको छ। यस्तै दोस्रो सेमेस्टरका विद्यार्थीका लागि साउन ९ गते ‘वर्कसप अन बिजनेस क्यानभास मोडल’ आयोजना गरिनेछ।
कलेजका अनुसार प्रत्येक कार्यक्रममा सम्बन्धित क्षेत्रका अनुभवी उद्योग विज्ञ, व्यवसायी तथा विषय विशेषज्ञलाई आमन्त्रण गरी उनीहरूको व्यावहारिक अनुभव विद्यार्थीसँग प्रत्यक्ष साझा गराइनेछ, जसले विद्यार्थीलाई अध्ययनसँगै व्यावसायिक संसारका चुनौती र अवसरबारे स्पष्ट बुझाइ दिलाउनेछ।
चार वर्षे (आठ सेमेस्टर) बीबीए अध्ययन अवधिभर प्रत्येक विद्यार्थीले कुल २४ वटा व्यावहारिक कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्ने कलेजले जनाएको छ। यसबाट विद्यार्थीले केवल शैक्षिक डिग्री मात्र नभई रोजगारी, उद्यमशीलता तथा उच्च शिक्षाका लागि आवश्यक व्यावसायिक दक्षता, नेतृत्व क्षमता र व्यवहारिक अनुभवसमेत हासिल गर्ने विश्वास कलेजको छ।
‘Quality Education Beyond Classroom’ अर्थात् कक्षाकोठाभन्दा बाहिर पनि गुणस्तरीय शिक्षा भन्ने मूल अवधारणालाई आत्मसात् गर्दै एपेक्स म्यानेजमेन्ट कलेजले आगामी दिनमा पनि विद्यार्थीलाई उद्योग–मैत्री, सीपमूलक तथा करियरमुखी कार्यक्रममार्फत सक्षम जनशक्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




