spot_img

मृत्युदण्डको सजाय भए पनि यसै वर्ष बंगलादेश फर्किन्छु : पूर्वप्रधानमन्त्री हसिना

spot_img
spot_img

काठमाडौं, १५ असार । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूविरुद्ध मृत्युदण्डको फैसला सुनाइए पनि यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन्। करिब दुई वर्षदेखि भारतमा निर्वासन जीवन बिताइरहेकी हसिनाले आफ्नो विरुद्धको फैसला राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी गरेकी छन्।

भारतीय सञ्चारमाध्यम एनडीटीभीसँगको अन्तर्वार्तामा उनले मृत्युदण्डको कुनै डर नरहेको बताउँदै सबै अवरोध पार गरेर बंगलादेश फर्किने दृढता व्यक्त गरिन्। ‘मेरो विरुद्ध धेरै षड्यन्त्र भए, तर म ती सबै पार गर्दै पाँच पटक जनताको मतबाट प्रधानमन्त्री बनेँ। अब पनि म आफ्नो देश फर्किनेछु,’ उनले भनिन्।

७८ वर्षीया हसिना सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको जनआन्दोलनपछि सत्ता गुमाएर भारत पुगेकी थिइन्। १५ वर्ष लामो शासनको अन्त्यसँगै उनी बंगलादेश छाड्न बाध्य भएकी थिइन्। त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छन्।

गत वर्ष नोभेम्बरमा ढाकाको अदालतले हिंसामा उक्साएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। त्यसपछि बंगलादेश सरकारले उनलाई फरार घोषित गरेको छ। साथै, उनको नेतृत्वको अवामी लिगमाथि पनि प्रतिबन्ध लगाइएको छ।

यसबीच भारत र बंगलादेशबीचको सम्बन्धमा पनि नयाँ मोड आएको छ। हसिना भारत पुगेपछि दुई देशबीच तनाव बढेको थियो र बंगलादेशले उनको प्रत्यर्पणको माग गर्दै आएको थियो। तर सन् २०२६ को आमनिर्वाचनपछि नयाँ सरकार गठन भएसँगै द्विपक्षीय सम्बन्ध सुधारतर्फ उन्मुख भएको देखिएको छ।

यसै क्रममा भारतले बंगलादेशी नागरिकका लागि पर्यटक भिसा सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। भारतीय अधिकारीहरूले यस कदमले दुई देशका नागरिकबीचको आवतजावत र सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। यसअघि भारतले उपचारका लागि मेडिकल भिसा सेवा पनि पुनः सुरु गरिसकेको थियो।

भारत र बंगलादेशबीच करिब ४ हजार ९६ किलोमिटर लामो खुला सीमा रहेकाले सीमा सुरक्षा र अवैध आप्रवासनका विषय अझै संवेदनशील मानिन्छन्। यद्यपि पछिल्ला कूटनीतिक पहलले दुई देशबीचको सम्बन्ध सुधार हुने संकेत देखिएको विश्लेषण भइरहेको छ।

यस्तो अवस्थामा शेख हसिनाले सार्वजनिक रूपमा स्वदेश फर्किने घोषणा गर्नु र भारत–बंगलादेश सम्बन्धमा देखिएको सकारात्मक परिवर्तनलाई दक्षिण एसियाली राजनीतिको महत्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय