काठमाडौं, १५ असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते (भोलि र पर्सी) देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक वर्षा हुने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
आइतबार साँझ जारी गरिएको विशेष मौसम बुलेटिनअनुसार बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढेको छ। यसको प्रभावले मनसुन देशका बाँकी पश्चिमी भूभागमा समेत पूर्ण रूपमा फैलिने र वर्षा थप सक्रिय हुने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना छ। यी प्रदेशका केही स्थानमा भने अत्यधिक वर्षा हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
यस अवधिमा पहाडी तथा तराईका अधिकांश स्थान र हिमाली क्षेत्रका केही स्थानमा निरन्तर हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
भारी वर्षाका कारण पहाडी जिल्लाहरूमा पहिरो, भूक्षय तथा लेदोसहितको बाढीको जोखिम बढ्ने मौसमविद्ले चेतावनी दिएका छन्। त्यस्तै, काठमाडौं उपत्यकासहितका शहरी तथा तराई क्षेत्रहरूमा डुबानको समस्या देखिन सक्ने सम्भावना रहेको छ।
साना तथा ठूला नदी, खोलाहरूमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।
लगातारको वर्षाले जनजीवन, कृषि, पर्यटन, निर्माण कार्य तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ। सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै महाशाखाले सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा आम नागरिकलाई आवश्यक पूर्वतयारी गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।




