spot_img

वीरगन्जमा जेष्ठ नागरिक संघ पर्साद्वारा २३ औँ राष्ट्रिय धान दिवस भव्य रूपमा मनाइयो

spot_img
spot_img

बीरगन्ज, १५ असार । जेष्ठ नागरिक संघ पर्साको आयोजनामा वीरगन्जमा २३ औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व उत्साहपूर्वक मनाइएको छ। ‘जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा कृषि, जलवायु परिवर्तन र खाद्य आत्मनिर्भरताबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै जलवायु परिवर्तनअनुकूल खेती प्रणाली अपनाउनु आजको आवश्यकता भएको बताए। किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादन वृद्धि गर्न महानगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहराले जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्न आधुनिक तथा अनुकूलित प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश प्रसाद शर्माले कृषि र नेपाली संस्कृतिबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता पर्व र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।

त्यसैगरी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले कृषि क्षेत्रको व्यावसायीकरण, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा कृषिमा लगानी वृद्धि भए मात्रै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गरे।

वक्ताहरूले असार १५ लाई धान रोपाइँको उत्सव मात्र नभई नेपाली समाजको कृषि संस्कृति र परम्पराको प्रतीकका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। जेष्ठ नागरिकहरूको अनुभव र आधुनिक कृषि प्रविधिको समन्वयबाट मुलुकलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सकिने सन्देशसमेत कार्यक्रममा दिइएको थियो।

कार्यक्रममा जेष्ठ नागरिक, स्थानीय बुद्धिजीवी, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा दही–चिउरा ग्रहण गर्दै शुभकामना आदानप्रदान गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय