वीरगन्ज,१५ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानले भोगिरहेका आधारभूत समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको उल्लेख गरेका छन्। श्रमजीवी किसानको मेहनत, पसिना र समर्पणबाट देशको खाद्य सुरक्षा र आर्थिक समृद्धिको आधार निर्माण हुने उनले बताएका छन्।
प्रचण्डले रोपाइँको मुख्य समयमा पनि किसानले सहज रूपमा रासायनिक मल, गुणस्तरीय बीउबिजन, सिँचाइ सुविधा तथा अन्य आवश्यक कृषि सामग्री नपाइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। यस्तो समस्याले कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने भएकाले सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ।
उनले किसानमैत्री नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्दै कृषि उत्पादन वृद्धि, किसानको आयस्तर सुधार र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका छन्। रोपाइँको व्यस्त समयमा आवश्यक कृषि सामग्री समयमै उपलब्ध गराउनु राज्यको दायित्व भएको पनि उनले उल्लेख गरेका छन्।
कृषि क्षेत्रको विकास र किसानको सम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति निर्माण तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले राष्ट्रिय धान दिवसले कृषि उत्पादन बढाउने नयाँ संकल्पका साथ अघि बढ्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
सन्देशको अन्त्यमा उनले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, समृद्धि तथा सफल खेतीपातीको शुभकामना व्यक्त गरेका छन्।




