spot_img

पर्सामा २३ लाखभन्दा बढी मूल्यका अवैध सामान र सवारी साधन बरामद

spot_img
spot_img

वीरगन्ज,१५ असार । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले विभिन्न मितिमा सञ्चालन गरेको सीमा निगरानी तथा चेकजाँचका क्रममा २३ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान र तिनको ओसारपसारमा प्रयोग भएका सवारी साधन बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार आइतबार वीरगञ्ज महानगरपालिका–१६ स्थित इनरुवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब ७ लाख ७२ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका कपडा सिरसिया नदी किनारको झाडीमा लुकाएर राखिएको अवस्थामा फेला पारेको हो। बरामद सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

त्यसैदिन इनरुवा र कोनिया नाकामा परिचालित टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको ४ लाख ५२ हजार ९०५ रुपैयाँ बराबरका किराना सामान, कस्मेटिक सामग्री, मदिरा, तरकारी र स्याउ बरामद गरेको जनाएको छ। उक्त सामान ढुवानीमा प्रयोग भएका एक थान ई–रिक्सा र एक थान साइकल समेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको छ।

यसअघि असार १३ गते वीरगञ्ज महानगरपालिका–१६, १७ र २१ अन्तर्गत इनरुवा, कोनिया, परवानीपुर र अलौ क्षेत्रबाट खटिएको टोलीले १० लाख ८४ हजार ४ सय रुपैयाँ बराबरका कपडा, मोबाइलका टेम्पर्ड ग्लास, किराना सामान, फलफूललगायतका सामग्री बरामद गरेको थियो। सो क्रममा सामान ओसारपसारमा प्रयोग भएका एक थान टेम्पो, एक थान मोटरसाइकल र तीन थान साइकल पनि नियन्त्रणमा लिइएको थियो। ती सामान तथा सवारी साधन असार १४ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार विभिन्न मितिमा बरामद गरिएका अवैध सामान र सवारी साधनको कुल अनुमानित मूल्य २३ लाख ९ हजार ३०५ रुपैयाँ रहेको छ।

सीमा क्षेत्रमा भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित रूपमा निगरानी र चेकजाँचलाई थप कडाइ गर्दै आएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय