spot_img

जनताको विश्वास जित्ने गरी काम गर्न सभामुख अर्यालको सांसदलाई आग्रह

spot_img
spot_img

काठमाडौं,१५ असार । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई जनताको अपेक्षा र विश्वासअनुसार जिम्मेवार तथा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

संघीय संसद सचिवालयले सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको दुईदिने सांसद अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले लाखौं नागरिकको मतबाट निर्वाचित जनप्रतिनिधिको हरेक गतिविधि जनताको निगरानी र मूल्यांकनको विषय हुने बताए। त्यसैले जनताको मूल्यांकनमा अब्बल हुने गरी काम गर्न सांसदहरूलाई उनले सुझाव दिए।

उनले संसदमा गुणस्तरीय कानुन निर्माण, अनुशासित व्यवहार र प्रभावकारी प्रस्तुतिका लागि सांसदहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। अभिमुखीकरण कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतारेर आफ्नो भूमिका थप प्रभावकारी बनाउन उनले आग्रह गरे।

सभामुख अर्यालले नयाँ सांसदहरूको संख्या धेरै भए पनि त्यसले उनीहरू नेपाल, कानुन वा लोकतान्त्रिक प्रणालीबारे अनभिज्ञ रहेको अर्थ नलाग्ने स्पष्ट पारे। तर संघीय संसदको कार्यप्रणाली, नियम र प्रक्रियामा अभ्यस्त बनाउन यस्ता अभिमुखीकरण कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो।

सांसदहरूको समयपालन, संसद बैठकमा उपस्थिति र सार्वजनिक गतिविधिलाई जनताले सूक्ष्म रूपमा नियालिरहेको उल्लेख गर्दै उनले अब सांसदहरूको वास्तविक मूल्यांकन राजनीतिक दलका नेता, प्रधानमन्त्री वा संसद सचिवालयले नभई जनताले नै गर्ने बताए। जनविश्वास कायम राख्ने गरी जिम्मेवारी निर्वाह गर्न उनले सबै सांसदलाई आग्रह गरे।

उनले अभिमुखीकरण कार्यक्रममा मोबाइलमा व्यस्त हुनुभन्दा सिकाइमा केन्द्रित हुन सांसदहरूलाई सुझाव दिँदै त्यसको सकारात्मक प्रभाव संसदको कार्यसम्पादन र जनताले महसुस गर्न सक्ने व्यवहारमा देखिनुपर्ने बताए। कार्यक्रममा सबै सांसदको उपस्थिति नभएकोप्रति पनि सभामुख अर्यालले असन्तुष्टि व्यक्त गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय