spot_img

सी र लुकासेन्कोबीच भेटवार्ता, चीन–बेलारुस सहकार्य विस्तारमा जोड

spot_img
spot_img

काठमाडौं, १५ असार । चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ अन्तर्गतको सहयोग विस्तारका विषयमा छलफल भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार राष्ट्रपति सीले लुकासेन्कोलाई बेइजिङस्थित डायोयुताई राज्य अतिथि गृहमा स्वागत गरेका थिए।

चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीन–बेलारुस सम्बन्धले विभिन्न अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गर्दै पनि निरन्तर प्रगति गरेको र अहिले इतिहासकै उत्कृष्ट चरणमा पुगेको उल्लेख गरिएको छ।

भेटका क्रममा राष्ट्रपति सीले बीआरआई परियोजनालाई थप प्रभावकारी बनाउन दुवै देशले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै व्यापार, पूर्वाधार, लगानी तथा अन्य व्यावहारिक क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

लुकासेन्कोको यो भ्रमण गत साता उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेलगत्तै भएको हो। सन् १९९४ देखि बेलारुसको नेतृत्व गर्दै आएका लुकासेन्को रुसका निकट सहयोगीका रूपमा परिचित छन्। उनले सन् २०२२ मा रुसलाई युक्रेनमाथिको आक्रमणका लागि बेलारुसको भूमि प्रयोग गर्न अनुमति दिएका थिए, तर बेलारुस प्रत्यक्ष रूपमा युद्धमा सहभागी नहुने अडान राख्दै आएका छन्।

नाटोको पूर्वी सीमासँग जोडिएको बेलारुसमा रुसले आफ्नो नवीन आणविक क्षमता सम्पन्न ‘ओरेश्निक’ मिसाइल पनि तैनाथ गरेको छ।

युक्रेन युद्धको विषयमा चीनले आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्दै आएको भए पनि किएभका पश्चिमी सहयोगी राष्ट्रहरूले बेइजिङले अप्रत्यक्ष रूपमा मस्कोलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन्।

सी र लुकासेन्कोबीच यसअघि पनि नियमित भेटवार्ता हुँदै आएको छ। उनीहरूबीच पछिल्लो पटक सन् २०२५ को अगस्टमा भेट भएको थियो, जहाँ लुकासेन्को बेइजिङमा आयोजित एक सैन्य समारोहमा समेत सहभागी भएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय