काठमाडौं, १५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव महाधिवेशनबाट पारित गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेसका सांसद चन्द्रबहादुर केसी र जगत तिमिल्सिनाले उक्त व्यवस्था संविधान र प्रचलित कानुनविपरीत रहेको दाबी गर्दै सरकार तथा निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन्।
सांसदहरूले रास्वपाको पहिलो महाधिवेशनका क्रममा सार्वजनिक गरिएको सदस्यता सम्बन्धी तथ्यांकलाई उल्लेख गर्दै नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार १८ वर्ष नपुगेका व्यक्तिलाई कुनै पनि राजनीतिक दलको सदस्य बनाउन नपाइने व्यवस्था रहेको स्मरण गराए।
सांसद तिमिल्सिनाले कानुन उल्लंघन गर्ने दललाई कारबाहीको व्यवस्था रहेकाले रास्वपाले पनि कानुनको पालना गर्नुपर्ने बताए। उनले १८ वर्षमुनिका बालबालिकालाई सदस्य बनाएर निर्वाचित भएका पदाधिकारी तथा केन्द्रीय समितिको वैधानिकतामाथि समेत प्रश्न उठाए।
उनले बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरेको उल्लेख गर्दै कानुनविपरीत सदस्यता वितरण गरिएको अवस्थामा त्यसबाट निर्वाचित नेतृत्वको वैधानिकताबारे स्पष्ट हुनुपर्ने धारणा राखे।
त्यस्तै सांसद केसीले एकातर्फ विद्यार्थी राजनीतिलाई सीमित गर्ने बहस चलिरहेको अवस्थामा अर्कोतर्फ सरकारमा सहभागी दलले आफ्नै संगठनमा बालबालिकालाई सदस्य बनाउने प्रयास गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी गरे। उनले कानुनको सम्मान गर्दै राजनीतिक दलहरूले संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार नै गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए।




