काठमाडौं,१५ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई लगानीकर्ताको हित संरक्षण, पुँजीबजार सुधार र आर्थिक वृद्धिमा योगदान दिने गरी जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराउँदै इमान्दारी, पारदर्शिता र निष्पक्षताका साथ काम गर्न आग्रह गरेका हुन्। मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले भट्टलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
शपथपछि अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी लगानीकर्ताको लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिए। पुँजी परिचालनमार्फत आर्थिक गतिविधि चलायमान बनाउने र बजारमा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने वातावरण निर्माण गर्न पनि उनले निर्देशन दिए।
उनले पुँजीबजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छमासिक तथा वार्षिक कार्ययोजना तयार गरी समयसीमाभित्र कार्यान्वयन गर्न अध्यक्ष भट्टलाई आग्रह गरे। बजारमा फैलिने आधारहीन हल्लाले विशेषगरी साना लगानीकर्तामा त्रास सिर्जना गर्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्दै बजारमा विश्वासको वातावरण कायम गर्नुपर्ने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले मन्त्रालयबाट नियामक निकायको काममा कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै परिणाममुखी ढंगले काम गर्न र बजारको अवस्थाबारे नियमित रूपमा मन्त्रालयलाई जानकारी गराउन पनि निर्देशन दिए।
नवनियुक्त अध्यक्ष डा. भट्टले सरकारको नीति र अर्थमन्त्रीको निर्देशनअनुसार पुँजीबजारको विकास, लगानीकर्ताको हित संरक्षण तथा आर्थिक वृद्धिमा योगदान पुग्ने गरी जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले पुँजीबजार सुधारसम्बन्धी विभिन्न अध्ययन तथा सिफारिसहरूलाई कार्यान्वयन गर्दै बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने दिशामा निरन्तर काम गर्ने बताए।




