काठमाडौं,१५ असार । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले किसानलाई करोडौँ रुपैयाँको अनुदान घोषणा गर्नुभन्दा मल, गुणस्तरीय बीउ, कृषि बीमा र उत्पादनको उचित मूल्य सुनिश्चित गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्।
राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै महासचिव पोखरेलले अनियमित वर्षा र खडेरीको जोखिम बढिरहेका बेला किसानको सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले कृषि बीमाको पूर्ण व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
सरकारले दुई करोड रुपैयाँभन्दा बढी लगानी गर्ने व्यावसायिक कृषकलाई अनुदान दिने घोषणा सकारात्मक भए पनि त्यसबाट अधिकांश साना किसान लाभान्वित हुन नसक्ने उनको टिप्पणी छ। आम नेपाली किसानको आर्थिक अवस्था ठूलो लगानी गर्न सक्ने स्तरमा नपुगेको उल्लेख गर्दै उनले किसानको वास्तविक आवश्यकता पहिचान गरी नीति बनाउन सरकारलाई सुझाव दिएका छन्।
पोखरेलले कृषिलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा वर्णन गर्दै खाद्य सुरक्षाका लागि किसानको भूमिका अझै महत्वपूर्ण रहेको बताएका छन्। तर राज्यले कृषि क्षेत्र र साना तथा मझौला किसानलाई अपेक्षित प्राथमिकता दिन नसकेको उनको आरोप छ।
उनले सरकार मध्यम वर्गको संरक्षणको कुरा गरिरहेको भए पनि उत्पादनमा निरन्तर खटिने किसानलाई राज्यको थप संरक्षण र सहयोग आवश्यक पर्ने धारणा व्यक्त गरे।
महासचिव पोखरेलले किसानलाई समयमै मल, बीउ, सिँचाइ सुविधा, कृषि बीमा र उत्पादनको उचित बजार मूल्य उपलब्ध गराउन सके मात्रै कृषि क्षेत्रको आधुनिकीकरण र आत्मनिर्भरताको लक्ष्य हासिल गर्न सकिने बताएका छन्।




