काठमाडौं,१५ असार | राष्ट्रियसभा सदस्य मोहम्मद खालिदले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि संघीय व्यवस्थालाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले संघीयता कुनै राजनीतिक दलको कृपा वा सहमतिबाट नभई नेपाली जनताको लामो संघर्ष, बलिदान, जेल जीवन र आन्दोलनको उपलब्धिका रूपमा स्थापित भएको बताए।
त्यसैले यस व्यवस्थालाई कमजोर पार्ने वा खारेज गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो।
खालिदले वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहले पनि संघीय व्यवस्थाको संरक्षण र सुदृढीकरण गर्ने प्रतिबद्धतासहित जनतासँग मत मागेको स्मरण गराउँदै, अहिले सरकारको दायित्व त्यसै प्रतिबद्धतालाई व्यवहारमा उतार्नु रहेको बताए।
उनले सरकारलाई संघीयताको कार्यान्वयन प्रभावकारी बनाउन, प्रदेश तथा स्थानीय तहलाई थप सशक्त बनाउन र संविधानले परिकल्पना गरेको संघीय शासन प्रणालीलाई मजबुत बनाउने दिशामा स्पष्ट रूपमा अघि बढ्न आग्रह गरे।
सांसद खालिदका अनुसार, संघीयता नेपाली जनताको संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि भएकाले यसको रक्षा गर्नु सबै राजनीतिक दल र राज्यको साझा जिम्मेवारी हो।




