काठमाडौँ,१५ असार । भारतको तमिलनाडु सरकारले सरकारी अस्पतालमा जन्मिने नवजात शिशुलाई सुनको औँठी उपहारस्वरूप दिने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।
यस योजनाको घोषणा तमिलनाडुका मुख्यमन्त्री तथा टीभीके प्रमुख विजयले गरेका हुन्।‘थाई मामन गोल्ड रिङ स्किम’ नाम दिइएको यस योजनाअन्तर्गत सरकारी अस्पतालमा जन्मिने प्रत्येक शिशुलाई एक ग्राम तौलको सुनको औँठी प्रदान गरिनेछ। हालको बजार मूल्यअनुसार उक्त औँठीको मूल्य करिब १३ हजार ६०० भारतीय रुपैयाँ पर्ने बताइएको छ।
राज्य सरकारले यो योजना सञ्चालनका लागि वार्षिक ७५५.८३ करोड भारतीय रुपैयाँ बजेट छुट्याएको छ। योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री विजयले सम्बन्धित निकायलाई तत्काल टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सरकारका अनुसार योजनाको औपचारिक शुभारम्भ आगामी सेप्टेम्बर १५ मा पूर्वमुख्यमन्त्री सी.एन. अन्नादुरईको जन्मजयन्तीका अवसरमा गरिनेछ। यद्यपि, यसको लाभ भने मुख्यमन्त्री विजयको जन्मदिन २२ जुन २०२६ देखि नै लागू भएको मानिनेछ।
यसअनुसार २२ जुन २०२६ पछि तमिलनाडुका सरकारी अस्पतालमा जन्मिएका सबै नवजात शिशुले ‘थाई मामन गोल्ड रिङ स्किम’ अन्तर्गत एक ग्राम सुनको औँठी प्राप्त गर्नेछन्।




