spot_img

रोहित शेट्टीलाई फेरि ज्यान मार्ने धम्की

spot_img
spot_img

काठमाडौ,१५ असार । बलिउड निर्देशक रोहित शेट्टीलाई लरेन्स बिश्नोई गिरोहको नाममा पुनः ज्यान मार्ने धम्की आएको दाबी गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान शेट्टीको टोलीलाई करिब ९० सेकेन्ड लामो अडियो सन्देश प्राप्त भएको थियो, जसमा २० करोड भारतीय रुपैयाँ फिरौती मागिएको बताइएको छ।

अडियो सन्देशमा केही महिनाअघि मुम्बईको जुहुस्थित शेट्टीको निवासबाहिर भएको गोलीकाण्डलाई ‘ट्रेलर’ मात्र भएको उल्लेख गर्दै, मागिएको रकम नदिए यसपटक गोली सिधै रोहित शेट्टीलाई लाग्ने चेतावनी दिइएको जनाइएको छ।

घटनालाई गम्भीर रूपमा लिँदै मुम्बई प्रहरीको अपराध शाखा र जुहु प्रहरीले मुद्दा दर्ता गरी अडियो क्लिपलाई फरेन्सिक परीक्षणका लागि पठाएका छन्। प्रारम्भिक अनुसन्धानमा अडियोमा सुनिएको आवाज लरेन्स बिश्नोईका निकट सहयोगी मानिने शुभम लोणकरको हुन सक्ने आशंका गरिएको छ। लोणकर हाल फरार छन् र सन् २०२४ मा भएको बाबा सिद्दिकी हत्याकाण्डका मुख्य आरोपितमध्ये एक मानिन्छन्।

रोहित शेट्टीमाथि लक्षित धम्कीको यो पहिलो घटना भने होइन। यसअघि सन् २०२६ फेब्रुअरी १ को मध्यरातमा जुहुस्थित उनको नौ तले आवासबाहिर मोटरसाइकलमा आएका आक्रमणकारीहरूले पाँच राउन्ड गोली चलाएका थिए। त्यतिबेला एउटा गोली उनको निजी जिमको झ्यालमा लागेको थियो। उक्त घटनाको जिम्मेवारी पनि बिश्नोई गिरोहले लिएको दाबी गरिएको थियो।

सुरक्षाको चुनौतीका बीच पनि शेट्टी आफ्नो व्यावसायिक काममा सक्रिय छन्। उनी दुई वर्षपछि चर्चित स्टन्ट रियालिटी शो ‘खतरों के खिलाड़ी’ सिजन १५ का होस्टका रूपमा पुनरागमन गर्दैछन्। शोको दक्षिण अफ्रिकाको केपटाउनमा छायांकन सम्पन्न भइसकेको छ भने प्रसारणको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय