spot_img

मधेशमा असार १५ सम्म ४.३६ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न

spot_img
spot_img

बीरगन्ज,१५ असार । कृषि उत्पादनको प्रमुख क्षेत्र मानिने मधेश प्रदेशमा यस वर्ष असार १५ गतेसम्म कुल धान खेतीयोग्य जमिनको ४.३६ प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको छ। मनसुन ढिलो सक्रिय भएका कारण रोपाइँ अपेक्षाअनुसार अघि बढ्न नसकेको कृषि अधिकारीहरूको भनाइ छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशभर धान रोपाइँ हुने ३ लाख ८७ हजार ९३३ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १६ हजार ९११ हेक्टर जमिनमा मात्र रोपाइँ सम्पन्न भएको छ।

जिल्लागत विवरणअनुसार महोत्तरीमा सबैभन्दा बढी ८.१७ प्रतिशत रोपाइँ भएको छ। त्यस्तै धनुषा र बारामा ७–७ प्रतिशत, सिरहा र सप्तरीमा ५–५ प्रतिशत तथा सर्लाहीमा २.५ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

यता पर्सा र रौतहटमा चैते धान कटानी नसकिएकाले हालसम्म मुख्य सिजनको धान रोपाइँ सुरु हुन सकेको छैन। यद्यपि, पछिल्ला केही दिनयता मनसुन सक्रिय भई पर्याप्त वर्षा हुन थालेपछि अब रोपाइँले गति लिने अपेक्षा किसानहरूले गरेका छन्।

यसैबीच, सोमबार देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित धान दिवस मनाइएको हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायले सामूहिक रोपाइँ तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेका थिए।

नेपाली समाजमा असार १५ लाई कृषिसँग जोडिएको सांस्कृतिक पर्वका रूपमा पनि मनाइन्छ। यस दिन किसानहरू खेतमा रोपाइँ गर्दै दही–चिउरा खाने परम्पराले कृषि संस्कृति र सामाजिक एकताको प्रतीकका रूपमा निरन्तरता पाउँदै आएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय