काठमाडौं,१५ असार । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले राष्ट्रिय सीमाको रक्षा र नागरिकको सुरक्षा सुनिश्चित गर्नु सरकारको पहिलो दायित्व भएको बताएका छन्। सरकारले यो जिम्मेवारी पूरा गर्न नसकेको अवस्थामा त्यसको औचित्य नै समाप्त हुने उनको भनाइ छ।
सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता रावलले कुनै पनि सरकारको वैधता राष्ट्रिय सार्वभौमसत्ता, सीमा सुरक्षा र जनताको सुरक्षासँग जोडिएको उल्लेख गर्नुभयो।
सरकारी जग्गा अतिक्रमण गर्नेमाथि कानुनी कारबाही हुनुपर्नेमा आफू सहमत रहेको बताउँदै उहाँले वास्तविक भूमिहीन, श्रमजीवी तथा विपन्न नागरिकको संरक्षण गर्नु राज्यको प्राथमिक जिम्मेवारी भएको धारणा राख्नुभयो। भूमिसम्बन्धी समस्या समाधान गर्दा वास्तविक आवश्यकता भएका नागरिकको हितलाई बेवास्ता गर्न नहुने उहाँको भनाइ थियो।
नेता रावलले नेपालको संविधानले परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त र राष्ट्रिय हितका आधारमा सञ्चालन गर्ने स्पष्ट व्यवस्था गरेको स्मरण गराउँदै विगतका सन्धिहरूको पुनरावलोकन गरी असमान सन्धि नगर्ने संवैधानिक व्यवस्था व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गर्नुभयो।
उहाँले राष्ट्रिय हित, सार्वभौमसत्ता र संवैधानिक मूल्यमान्यतालाई केन्द्रमा राखेर राज्यका नीति तथा निर्णय अघि बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो।




