बीरगन्ज,१५ असार । बीरगन्ज महानगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ। ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा कृषिको आधुनिकीकरण र जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत धान उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।
महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले खेतमै पुगेर धान रोप्दै कार्यक्रमको उद्घाटन गर्नुभयो। उहाँले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दो चुनौती देखिएकाले आधुनिक प्रविधि अपनाएर मात्रै उत्पादन वृद्धि सम्भव हुने बताउनुभयो।
उहाँले किसानलाई आधुनिक कृषि प्रविधिमा पहुँच विस्तार गर्दै कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाका अनुसार स्थानीय तहमा कृषिको आधुनिकीकरणलाई प्रोत्साहन गर्ने, धान खेतीप्रति किसानलाई थप उत्साहित बनाउने तथा असार १५ को मौलिक परम्पराको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा महानगरका कर्मचारी, जनप्रतिनिधि, कृषि विज्ञ तथा स्थानीय कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा धान रोप्नुका साथै असार १५ को परम्पराअनुसार दही–चिउरा खाएर शुभकामना आदानप्रदान गर्दै राष्ट्रिय धान दिवस उत्साहपूर्वक मनाएका थिए।




