spot_img

हेटौँडा–कुलेखानी–फाखेल सडक असार २५ सम्म बन्द रहने

spot_img
spot_img

मकवानपुर,१५ असार । हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग मानिने हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौं सडक आगामी असार २५ गतेसम्म बन्द रहने भएको छ।

पूर्वाधार विकास कार्यालय, हेटौँडाका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ मा पर्ने महालक्ष्मी खोलामा पुल निर्माण तथा उकालो सडक ढलान कार्यका कारण सडक बन्द गरिएको हो।

यसअघि जेठ १५ गतेदेखि एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको उक्त सडकमा पुल निर्माण र ढलानको काम सम्पन्न भइसके पनि प्राविधिक कारणले सवारी आवागमन अझै केही दिन रोक्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीका अनुसार ढलान गरिएको स्थानमा कङ्क्रिट पूर्ण रूपमा सेट हुन र आवश्यक मजबुती (strength) हासिल गर्न समय लाग्ने भएकाले सडक सञ्चालन तत्काल सम्भव नभएको हो। साँघुरो सडक र निर्माण गरिएको संरचनाको सुरक्षा सुनिश्चित गर्न असार २५ सम्म बन्द अवधि थप गरिएको उनले बताए।

सडक बन्द अवधिभर यात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्गका रूपमा कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्न आग्रह गरिएको छ। वैकल्पिक मार्गमार्फत दुईतर्फी आवागमन व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुर र काठमाडौंसँग समन्वय पनि गरिएको कार्यालयले जनाएको छ।

यस निर्णयसँगै हेटौँडा–काठमाडौं आवतजावत गर्ने यात्रुहरूलाई असार २५ सम्म वैकल्पिक रुट प्रयोग गर्नुपर्ने भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय