काठमाडौं,१६ असार । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बस चालकसहित २२ जना यात्रु घाइते भएका छन्। घाइतेहरूमा कैलाली, बैतडी, डोटी, डडेलधुरा, बझाङ, दार्चुला तथा चितवनका यात्रु रहेका छन्। उनीहरूको टाउको, हात, खुट्टा, छाती, कम्मरलगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल तौलिहवामा लगिएको थियो। उपचारपछि थप उपचार आवश्यक देखिएकाहरूलाई मेडिकल कलेज भैरहवामा रिफर गरिएको छ।
दुर्घटनाका बेला बसमा चालकसहित ४६ जना सवार थिए। घाइते नभएका २४ यात्रुलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि क्रेनको सहायताले बस हटाइएपछि हुलाकी सडकखण्डमा दुवैतर्फ सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




