spot_img

ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

spot_img
spot_img

  जनकपुर,१६ असार । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन आयोजना सम्पन्न भएको छ। आयोजनाले आजदेखि प्रसारण लाइनमा उच्च भोल्टेज विद्युत प्रवाह गरी परीक्षण सुरु गर्ने जनाएको छ।

आयोजनाअनुसार ढल्केबर सबस्टेशनदेखि धनुषाको हंसपुर नगरपालिका–९ स्थित बालगंगा सबस्टेशनसम्म जोडिएको १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्ने तयारी गरिएको हो। परीक्षण सफल भएपछि लाइनलाई नियमित रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ।

उच्च क्षमताको विद्युत प्रवाह हुने भएकाले आयोजना कार्यालयले प्रसारण लाइन आसपासका स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। टावरमा नचढ्न, विद्युतका तार वा अन्य संरचनालाई कुनै पनि वस्तुले नछुन तथा ‘खतरा’ संकेत गरिएका स्थानबाट टाढा रहन अनुरोध गरिएको छ। सम्भावित दुर्घटनाबाट बच्न बालबालिकालाई पनि यसबारे सचेत गराउन आयोजनाले आग्रह गरेको छ।

यो प्रसारण लाइन धनुषाको बटेश्वर गाउँपालिका, लक्ष्मीनियाँ गाउँपालिका, मिथिला बिहारी नगरपालिका, औरही गाउँपालिका तथा हंसपुर नगरपालिकाका विभिन्न वडाबाट गुज्रिने भएकाले ती क्षेत्रका बासिन्दालाई थप सतर्क रहन भनिएको छ।

आयोजनाले परीक्षणका क्रममा वा त्यसपछि प्रसारण लाइनमा स्पार्क देखिएमा वा कुनै असामान्य अवस्था महसुस भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल विद्युत प्राधिकरणको सम्बन्धित कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय