वीरगन्ज,१६ असार । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित एयरपोर्ट नजिक भएको सवारी दुर्घटनामा परी वीरगन्जका एक किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–२९ निवासी १७ वर्षीय लक्की सर्राफ रहेका छन्। सोमबार बेलुका डुमरवाना–सिमरा भित्री सडकखण्डमा स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि तत्काल परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार ना २८ प ५८५५ नम्बरको स्कुटर चलाइरहेका सर्राफ डुमरवानाबाट सिमरातर्फ जाँदै थिए। सोही दिशामा अघि गुडिरहेको प्र.२–०३–००१ त ३७७३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग स्कुटर ठोक्किएको थियो। मोटरसाइकलसँग ठोक्किएपछि स्कुटर अनियन्त्रित भई ट्र्याक्टरमुनि पसेको र त्यसक्रममा सर्राफ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटरको पछाडि सवार १७ वर्षीय दिलसाद देवान सामान्य घाइते भएका छन्। उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी मोटरसाइकल चालक जितपुरसिमरा–२३ निवासी २९ वर्षीय रइफुल आलम अन्सारी पनि घाइते भएका छन्। उनको थप उपचारका लागि वीरगञ्जस्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा रिफर गरिएको छ।
घटनापछि ट्र्याक्टर चालक जितपुरसिमरा–४ औराहा निवासी ७० वर्षीय शिवराज चौधरीलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




